DigiNepal

दशौँ राष्ट्रिय खेलकुदमा ऐतिहासिक निर्णय : रजत र कास्य पदक विजेतालाई पहिलोपटक नगद पुरस्कार

काठमाडौँ। कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक रजत र कास्य पदक विजेता खेलाडीहरूलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै पदक विजेताहरूको मनोबल उच्च राख्न नयाँ पुरस्कार नीति सार्वजनिक गरेको हो।

राखेपका अनुसार, व्यक्तिगत विधातर्फ स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कास्य पदक विजेताले ८ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यस्तै, टिम इभेन्टतर्फ स्वर्ण जित्नेले १५ हजार, रजतले १० हजार र कास्य पदक विजेताले ८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

यसअघि राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई मात्र नगद पुरस्कार दिने प्रचलन रहेकोमा दशौँ संस्करणबाट रजत र कास्यलाई पनि समेटिएको हो।

प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी १३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

१०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्।

राखेप सदस्य सचिव रामचरित्र मेहताका अनुसार, उद्घाटन र समापन समारोह दुवै सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ।

प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र एनआरएनएको गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

प्रत्येक टोलीबाट ६६० जना सहभागी हुनेछन्। जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन्। प्रतियोगिताका लागि कुल १ हजार ३० जना निर्णायक रहनेछन्। तीमध्ये २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक हुने राखेपले जनाएको छ। खेल संघका ९६ प्रतिनिधिको पनि सहभागिता रहनेछ।

प्रतियोगिताका खेल सुर्खेतसहित सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा २३, नेपालगन्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना हुने राखेपले जनाएको छ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates